के ‘कोभिड भ्याक्सिन’ नजिक पुगेकै हो त बेलायत ?
यतिबेला विश्व नै कोरोना भाइरसको संक्रमणबाट लाग्ने ‘कोभिड १९’ नामक रोगसंगको लडाईंमा छ । जसले सिंगो मानव जगतलाई स्वास्थ्यमा मात्र नभइ सामाजिक, आर्थिक र मनोवैज्ञानिक हिसाबले समेत गम्भीर असर पुर्याइरहेको छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको ‘कोभिड १९’ नयाँ रोग हो । जुन रोगको औषधि अहिलेसम्म पत्ता लागिसकेको छैन । यो रोग लागिसकेपछि यसलाई निको पार्ने औषधि नभएको अवस्थामा यो रोग नै लाग्नबाट बचाउने ‘भ्याक्सिन’ आजको सबैभन्दा ठूलो आवश्यकता हो ।
अहिले धेरै मुलुकहरुमा ‘कोभिड १९’ विरुद्धको खोप (भ्याक्सिन) विकास गर्ने पहलहरु भइरहेका छन् । बेलायतमा पनि कैयौं समूहले कोशिस गरिरहेका छन् । यहाँकै अक्सफोर्ड विश्वविद्यालयले विकास गर्दै गरेको ‘क्यान्डिडेट भ्याक्सिन’ यहि विहिबारदेखि मानिसमा परीक्षण शुरु गर्न लागिएको खबर सार्वजनिक भएको छ । जसले धेरै मानिसहरुमा ठूलो आशा जगाएको छ ।
के यो सांच्चिकै उपलब्धि हो ?
‘कोभिड १९’ को पहिलो केस गत डिसेम्बर १९ मा पुष्टी भएको थियो । यसर्थ यो रोग देखिएकै ५ महिना मात्रै बित्दै गर्दा यसविरुद्धको ‘भ्याक्सिन’ मानिसमा परीक्षण गर्ने तहसम्म आइपुग्नुलाई ‘क्वीक टर्न अराउण्ड’का रुपमा लिन सकिन्छ । जुन आफैमा ठूलो उपलब्धि हो । ‘भ्याक्सिन’ विकासको प्रक्रियामा यसलाई पहिलो महत्वपूर्ण फड्कोका रुपमा बुझ्न सकिन्छ ।
तर यहाँनेर बिर्सिनै नसक्ने अर्को तथ्य पनि के छ भने, यो केबल परीक्षणका लागि तयार गरिएको ‘क्यान्डिडेट भ्याक्सिन’ हो । जुन मात्र परीक्षणका क्रममा छ । यो ‘भ्याक्सिन’ सफल हुने जति सम्भावना छ, असफल हुने पनि त्यति नै सम्भावना छ ।
‘भ्याक्सिन’को परीक्षण ‘ट्रायल एण्ड इरर’ को क्रममा चलिरहन्छ । ‘ट्रायल’ गर्ने, ‘इरर हुन्छ । फेरि ‘ट्रायल गर्ने’, फेरि ‘इरर’ हुन्छ । र यो क्रम चलिरहन्छ । कहिले, कुन चरणमा जाँदा सफल हुन्छ भन्ने थाहा हुंदैन । सफल हुन्छ, हुँदैन भन्ने समेत टुंगो हुँदैन ।
कति समय लाग्ला ?
कुनै पनि रोगको ‘भ्याक्सिन’को विकास हुन सामन्यतया १२ देखि १८ महिनासम्म लाग्छ । यो औसत समय हो ।
तर अक्सफोर्ड विश्वविद्यालयले आउँदो सेप्टेम्बर महिनासम्ममा ‘कोभिड १९’ विरुद्धको भ्याक्सिन तयार गरिसक्ने लक्ष्य सार्वजनिक गरेको छ । औसत भन्दा धेरै थोरै र यति छोटो समयमै ‘भ्याक्सिन’ तयार हुनु आफैमा चुनौतिपुर्ण छ । यदि उनीहरुको लक्ष्यअनुरुप नै यहि समयसीमामा ‘भ्याक्सिन’ तयार हुन सक्यो भने त्यसलाई महत्वपुर्ण उपलब्धि मान्नुपर्छ ।
यस अर्थमा अक्सफोर्डले बनाउन लागेको ‘भ्याक्सिन’ सबैभन्दा छिटो तयार भयो भने त्यो आउँदो सेप्टेम्बरसम्म हुनेछ । तर त्यतिञ्जेल ‘भ्याक्सिन’ तयार भइसक्छ भन्ने कुनै ‘ग्यारेन्टी’ भने छैन, अझै धेरै समय पनि लाग्न सक्छ । त्यसो त यो ‘भ्याक्सिन’को परीक्षण सफल हुन्छ नै भन्ने पनि ‘ग्यारेन्टी’ छैन, असफल हुने जोखिम पनि रहन्छ ।
यदि लक्ष्यअनुसार नै परीक्षण सफल भयो र सेप्टेम्बरसम्ममै ‘भ्याक्सिन’ तयार भयो भने पनि आम मानिसहरुको लागि कहिलेसम्म उपलब्ध हुोला भन्ने अर्को ठूलो प्रश्न छ । अहिले भर्खर परीक्षण शुरु हुंदै गरेको अवस्थामा अनुमान गर्न पनि कठिन छ ।
तर बेलायतका स्वास्थ्यमन्त्रीले समेत बेलायतमा ‘भ्याक्सिन’ तयार भएको अवस्थामा पहिलो प्राथमिकता बेलायतलाई नै दिइने बताएका छन् । यसबाट पनि के आँकलन गर्न सकिन्छ भने बेलायतमा बनेको ‘भ्याक्सिन’ पहिलो चरणमा बेलायतकै लागि प्रयोग गरिनेछ ।
यसको उत्पादन कसरी र कुन तहमा गर्न सकिन्छ भन्ने विषयले पनि यसको वितरण कसरी हुन्छ भन्ने निर्धारण गर्नेछ । शुरुमै पर्याप्त उत्पादन हुन नसक्ने अवस्थामा उच्च जोखिममा रहनेहरुलाई पहिलो प्राथमिकतामा राख्ने सम्भावना रहन्छ । दोस्रो क्रममा बेलायतमा रहेका अन्य आम मानिसहरु र त्यसपछि मात्रै बेलायतबाहिर आपूर्ति हुन सक्छ ।
के हेरिन्छ परीक्षणमा ?
अक्सफोर्डले तयार गर्दै गरेको ‘भ्याक्सिन’ मानिसहरुमा परीक्षण गर्ने क्रममा आउनु भनेको यसले केहि प्रारम्भिक चरण पार गरिसकेको छ । यो ‘क्यान्डिडेट भ्याक्सिन’ कुन-कुन जनावरमा परीक्षण गरियो भन्ने नखुलाइएपनि फरक फरक जनावरमा गरिएको परीक्षण सफल भइसकेको हुनुपर्छ ।
अब मानिसहरुमा परीक्षण गर्दा पहिलो कुरा यसको ‘इफिकेसी’ हेरिन्छ । कति जना मानिसहरुमा परीक्षण गर्दा त्यसको कति प्रतिशतलाई यो ‘भ्याक्सिन’ले सुरक्षित गर्न सक्छ त भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
दोस्रो महत्वपुर्ण पक्ष, यो ‘भ्याक्सिन’ले प्रदान गर्ने ‘इम्युनिटी’को हो । एकपटक ‘भ्याक्सिन’ लगाइसकेको मानिस कति लामो समयका लागि सुरक्षित रहन सक्छ र कति वटा ‘भ्याक्सिन’ लगाएपछि ‘डोज’ पूरा हुन्छ भन्ने परीक्षणको विषय हुन्छ । त्यस्तै, अर्को महत्वपूर्ण कुरा यो खोप लगाएको व्यक्तिमा कुनै नकारात्मक असरहरु देखिन्छन् कि देखिंदैनन् भन्ने पनि हो । ‘भ्याक्सिन’ले कुनै गम्भीर ‘साइड इफेक्ट’हरु सिर्जना गरेको अवस्थामा परीक्षण सफल हुन सक्दैन ।
भ्याक्सिन नआउइञ्जेल महामारी रहन्छ त ?
अहिलेको अवस्थामा न त ‘कोभिड १९’ लाग्न नदिने ‘भ्याक्सिन’ छ न त यो रोग लागिसकेपछि उपचार गर्ने औषधि । यहि अवस्थामा पूर्ण रुपमा महामारी नियन्त्रण सम्भव देखिंदैन ।
बेलायतसहित कैयौं मुलुकमा अहिले ‘लकडाउन’ छ । ‘लकडाउन’का कारण ‘मेन्टेन’ भएको ‘फिजिकल डिस्टेन्सिङ’का कारण संक्रमण अब बिस्तारै घट्दै जानेछ । तर संक्रमण घट्न थाल्यो भनेर ‘लकडाउन’ खुकुलो पार्दा ‘फिजिकल डिस्टेन्सिङ’ पनि घट्ने र संक्रमण फेरि बढ्न थाल्ने उच्च जोखिम रहन्छ । यसर्थ संक्रमणमा कुन तहसम्मको गिरावट आएपछि कसरी ‘लकडाउन’ खुकुलो पार्ने क्रम शुरु हुन्छ भन्ने विषयले पनि महामारी कुन रुपमा अघि बढ्छ भन्ने निर्धारण गर्नेछ ।
हुन त ‘हर्ड कम्युनिटी’को कुरा पनि उठ्ने गरेको छ । ८० प्रतिशत मानिस एकपटक संक्रमित बनेर ठीक भइसकेपछि बाँकी २० प्रतिशत पनि सुरक्षित रहन्छन् भन्ने यो अवधारणा पनि अझै प्रमाणित हुन सकेको छैन । एकपटक संक्रमित बनेर निको भइसकेको व्यक्तिलाई फेरि संक्रमण हुंदैन भन्ने ‘ग्यारेन्टी’ नभइन्जेल यसबारे ढुक्क हुन मिल्ने अवस्था छैन ।
यसबीचमा औषधिको विकास हुन सक्यो भने पनि धेरै ठूलो राहत अपेक्षा गर्न सकिन्छ । संक्रमण भइहालेको अवस्थामा पनि औषधिको सहाराले धेरैको जीवन जोगिन सक्छ । तर पनि ‘कोभिड १९’ परास्त गरी यस महामारीलाई विश्वबाटै निर्मुल गर्ने अवस्थासम्म पुग्नको लागि यसविरुद्धको ‘भ्याक्सिन’को विकास नै अपरिहार्य रहन्छ ।
(‘वाटर एड यूके’ मा ‘सिनियर वास मेनेजर ‘का रुपमा कार्यरत जनस्वास्थ्य विज्ञ डा. ओमप्रसाद गौतमसंगको संवादमा आधारित )
यो पनि पढौं : बेलायतमा कोरोनाविरुद्धको खोपको ‘मानव परीक्षण’ शुरु हुँदै