बिदामा नेपाल गएका श्रमिकको रोजगारी गुम्ने खतरा


सउल । दक्षिण कोरियाको ख्यङ्जुस्थित एक गाईफार्ममा काम गर्दै आएका काभ्रेका सागर लामिछानेको बिदा सकिएको छ ।
घरको न्यास्रो मेटाउन उनीँ डेढ महिनाअघि एकमहिने बिदा लिएर नेपाल फर्किए तर त्यसको दुई हप्तामै कोरोना भाइरसको महामारीका कारण लकडाउन जारी भएपछि फर्किन पाएनन् ।
लामिछानेले फोनबाट लकडाउन नखुल्दा तत्काल आउन नसक्ने जानकारी गराउँदा कम्पनीले छिटो आउन या रोजगारी छाड्न दबाब दिइरहेको छ ।
उनीजस्ता ८०० बढी नेपाली श्रमिक (विद्यार्थी र व्यवसायीसमेत) बिदामा वा कम्पनी परिवर्तन गरी अर्को कम्पनीमा लाग्नुअघि नेपाल पुगेर उतै अड्किएका छन् । अनेक कष्टका साथ दक्षिण कोरिया आइयो तर कमाउने बेलामा नेपाल फर्केर कम्पनीको स्वीकृत बिदा अवधिभित्रै कोरिया फर्कन नसक्दा आफ्नो रोजगारी नै गुम्ने हो कि भन्ने चिन्ताले उनीहरूलाई सताइरहेको छ ।
यस समस्यालाई ध्यान दिएर केही नेपाली सङ्घसंस्थाले बिदामा नेपाल जाने नेपाली श्रमिकलाई कोरिया फर्काइदिन अनुरोध गर्दै नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।
सउलस्थित नेपाली दूतावासमा नेपाली सम्पर्क समिति, दोङ्देमुन व्यवसायी सङ्घ, नेपाली विद्यार्थी समाज, नेपाल पर्यटन बोर्डका मानार्थ दूत केपी सिटौलालगायतले यहाँस्थित कार्यवाहक नेपाली राजदूत रामसिंह थापालाई ज्ञापनपत्र बुझाउँदै बिदामा नेपाल गएका नेपालीलाई जतिसक्दो छिटो कोरिया फर्किने वातावरण मिलाइदिन अनुरोध गरेका छन् ।
‘यसबारेमा नेपाल सरकार गम्भीर हुनुपर्छ तर दूतावासले अभिभावकत्व प्रदान गर्नुपर्ने बेलामा खासै चासो देखाइरहेको छैन’- नेपाल पर्यटन बोर्डका मानार्थ दूत केपी सिटौलाले भने ।
सिटौलाले काठमाडौंमा सम्भावित चार्टर उडानसम्बन्धी शोधपत्रमार्फत कोरिया फर्किन चाहने नेपालीका बारेमा सर्वेक्षण गरेका थिए । सर्वेक्षणअनुसार बिदामा गएका अधिकांश नेपाली कोरिया फर्किन चाहेका देखिएको छ ।
उनले थपे, ‘बिदामा गएका नेपाली कसैगरी समयमै कोरियाा फर्कन नसके कम्पनीले उनीहरूलाई नकुर्न पनि सक्छ । यदि त्यसो भएमा नेपालमा रहेका नेपाली श्रमिकको रोजीरोटी मात्र खोसिन्न, देशलाई पनि करोडौँ रेमिट्यान्स गुम्छ ।’
दूतावासले त्यस्तो समस्यामा परेका नेपालीका लागि आवश्यक समन्वय गर्दै आएको जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५