बेलायतमा कोरोनाबाट मृत्यु हुने १५ हजार कटे
अस्पताल भर्ना हुनेहरु घट्दै



बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १५ हजार नाघेको छ ।
लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १५ हजार नाघेको छ ।
‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ले शनिबार जारी गरेको तथ्यांकअनुसार हालसम्म बेलायतमा १५ हजार ४ सय ६४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ८ सय ८८ जनाको मृत्यु भएको छ ।
त्यस्तै, बेलायतका कोरोना संक्रमणका ‘केस’हरु पनि बढेर १ लाख १४ हजार २ सय १७ पुगेका छन् । पछिल्लो एक दिनमा मात्रै ५ हजार ५ सय २६ नयाँ ‘केस’ थपिएका छन् ।
शनिबारसम्म बेलायतमा कुल ४ लाख ६० हजार ४ सय ३७ जनामा कोरोना भाइरस संक्रमण परीक्षण गरिएको छ ।
हाल १७ हजार ७ सय ५९ कोरोना संक्रमितहरु बेलायतका विभिन्न अस्पतालमा उपचाररत रहेको बताइएको छ । जुन संख्या एक दिन अघिको तुलनामा झण्डै १ हजारले थोरै हो ।
अस्पताल भर्ना हुनेहरु घट्दै

‘सेक्रेटरी अफ स्टेट फर हाउजिङ, कम्युनिटिज एण्ड लोकल गभर्नमेन्ट’ रोबर्ट जेनरिक
यसैबीच, शनिबारको ‘डाउनिङ स्ट्रिट ब्रिफिङ’मा बेलायत सरकारका ‘सेक्रेटरी अफ स्टेट फर हाउजिङ, कम्युनिटिज एण्ड लोकल गभर्नमेन्ट’ रोबर्ट जेनरिकले कोरोनाका कारण भएका मृत्युहरुलाई ‘ह्दयविदारक’ भनेर टिप्पणी गरेका छन् ।
उनले आइतबार टर्कीबाट ४ लाख ‘मेडिकल गाउन’सहित कुल ८४ टन ‘पिपिई’ बेलायत भित्रिने जानकारी गराएका छन् ।
बेलायतको ‘नेश्नल हेल्थ सर्भिस’ (एनएचएस) संग १० हजार ६ सय ६ ‘भेन्टिलेटर’ रहेको जानकारी गराउँदै मन्त्री जेनरिकले भने, ‘हामीसंग पर्याप्त भेन्टिलेटरहरु छन् । एनएचएसको क्षमताको बारेमा अहिले हामीसंग अझै बढि आत्मविश्वास छ । जुन केहि साताअघिसम्म एउटा ठूलो चिन्ताको विषय थियो ।’
सरकारले इंग्ल्याण्डका सबै काउन्सिलहरुलाई कोरोनाविरुद्धको उनीहरुको अभियानमा सघाउन कुल १ दशमलव ६ विलियन पाउण्ड प्रदान गर्ने जानकारी उनले गराए ।
कोरोनाको संक्रमणपछि अहिले आरामकै क्रममा रहेका प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यमा सुधार भइरहेको मन्त्री जेनरिकले बताए । तर, प्रधानमन्त्री कहिलेबाट काममा फर्किनेछन् भन्नेबारे उनले केहि उल्लेख गरेनन् ।
सोहि अवसरमा एनएचएस इंग्ल्याण्डका ‘मेडिकल डाइरेक्टर’ स्टिभन पाविसले लण्डनमा अस्पताल भर्ना हुन आउनेहरुको संख्या पछिल्ला केहि दिनमा घट्दै गएको जानकारी गराए । मिडल्याण्डसहितका अन्य क्षेत्रमा समेत अस्पताल भर्ना हुनेहरुको संख्या घट्न लागेको संकेतहरु देखिन लागेको उनको भनाइ थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५