कुल आचार्यलाई कोभिड लक्षण
५ लाख उपलब्ध गराउने प्रतिवद्धता



व्यवसायी कुल आचार्य
लन्डन । एनआरएनए पूर्व उपाध्यक्ष एवं लन्डनका एकजना व्यवसायी कुल आचार्यलाई ‘कोभिड १९’ लक्षण देखिएको छ । आचार्यले शनिबार सामाजिक सञ्जालमार्फत उक्त कुरा सार्वजनिक गरेका हुन् ।
‘म आफैं पनि केही लक्षणहरु देखा परेर आइसोलेसनमा रहि स्वास्थ्य लाभको क्रममा छु’, उनले भनेका छन्, ‘यो महामारीमा पनि फ्रन्टलाइनमा रहेर नेपाल लगायत बिश्वभर सेवा गरिरहेका नेपालीसहित सबै स्वास्थकर्मीप्रति मेरो उच्च सम्मान छ ।’
उनले दुःखमा परेका प्रवासका नेपालीलाई सानो सहयोगस्वरूप रू ५ लाख उपलब्ध गराउने प्रतिवद्धता पनि जनाएका छन् ।
आचार्यले बेलायत, साइप्रस, अमेरिका, पोर्चुगल, माल्टा, स्पेन, इटली लगायतका नेपालीमा समस्या भएको र तिमध्ये कतिपय कागजको समस्याले अप्ठेरोमा परेको जनाउंदै उनीहरुलाई सहयोग जरुरी देखिएको उल्लेख गरेका छन् । बेलायतमा धेरै भूपू गोर्खाले ज्यान गुमाएका र भूपू गोर्खाहरुको विशेष सुरक्षा अपनाउनु पर्ने अवस्था आएको पनि उनले बताएका छन् ।
आचार्यले घर फर्किन चाहने नागरिकलाई जसरी विश्वले स्वदेश फर्काइ क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिरहेको छ, त्यसरी नै नेपाल फर्काइ नेपालमा क्वारेन्टाइनको व्यवस्था गरेर १४ दिन पछि घर फर्काउने पहल गर्न नेपाल सरकारसंग अनुरोध गरेका छन् ।
यस्तो बेला व्यक्तिगत र सामूहिक रुपमा सक्दो सहयोग गर्न सबै एकजुट हुन पनि उनले आव्हान गरेका छन् । ‘यो फुटेर हैन जुटेर अघि बढ्ने बेला हो । कुनै पदमा रहे पनि वा नरहे पनि मातृभूमीको ऋण तिर्न र सबै गैर आवासीय नेपाली दाजुभाइ दिदीबहिनीहरुको सक्दो सेवा गर्न म संधै तत्पर रहेको कुरा फेरी पनि जाहेर गर्न चाहन्छु’- उनले भनेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५