आइतबार, पुष ७, २०८१
10:18 | १६:०३

बाग्लुङकी ६५ वर्षीया वृद्धाले जितिन् कोरोना

रासस अप्रिल १८, २०२०

धौलागिरि अञ्चल अस्पताल बागलुङ

बाग्लुङ । नेपालकी छैटौँ कोरोना सङ्क्रमित महिलालाई कोरोना निको भएको छ ।

बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया कोरोना सङ्क्रमित महिलाको तेस्रो र चौथो पटकको रिपोर्ट ‘नेगेटिभ’ अर्थात् कोरोना निको भएको आएपछि धौलागिरि अञ्चल अस्पताल, बागलुङमा १७ दिनदेखि उपचाररत उनको ‘डिचार्ज’ गर्ने तयारी भइरहेको धौलागिरि अञ्चल अस्पतालका ‘मेडिकल सुपरिटेन्डेन्ट’ डा शैलेन्द्र वि पोखरेलले जानकारी दिए ।

“हामी बैठकमा छौँ”, पोखरेलले भने, “सकेसम्म शनिबार नत्र आइतबार घर पठाउने अस्पतालको तयारी छ ।” गत चैत ४ गते बेल्जियमबाट कतार हुँदै बागलुङ आएकी उनलाई चैत १७ गते कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा भर्ना गरी उपचार भइरहेको थियो ।

कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पतालको ‘आइसोलेशन वार्ड’ मा उपचाररत महिलाको यसभन्दा पहिले दुई पटक स्वाब परीक्षण गर्दा ‘पोजेटिभ’ आए पनि तेस्रो र चौथौ पटक ‘नेगेटिभ’ आएका कारण उनलाई कोरोना ठीक भएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौँले जानकारी दिए ।

“चौथो रिपोर्ट पनि नेगेटिभ आएको छ”, गुरौँले भने, “दुई पटकसम्म नेगेटिभ रिपोर्ट आउनु भनेको कोरोना निको हुनु हो ।” अस्पतालबाट ‘डिस्चार्ज’ भएकी महिलालाई अझै केही समय घरकै क्वारेन्टाइनमा बस्नुपर्ने डाक्टरहरुले बताएका छन् । नेपालमा ती महिला कोरोना निको हुने तेस्रो सङ्क्रमित हुने बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू