सोलिसिटर भट्टराईले विद्यार्थीलाई ‘हार्डसिप फण्ड’ बाँड्ने



सोलिसिटर दिपक भट्टराई
लण्डन । सोलिसिटर दिपक भट्टराईले बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दै २ हजार पाउण्ड राशीको ‘स्टुडेन्ट हार्डसिप फण्ड’ घोषणा गरेका छन् ।
भट्टराई सञ्चालक रहेको ‘भट्टराई एण्ड को इमिग्रेसन प्राक्टिस’का तर्फबाट उक्त कोष वितरण गर्न लागिएको उनले बताएका छन् । बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुको लागि वर्षेनी प्रदान गर्ने गरी उक्त कोष स्थापना गरिएको छ ।
‘हरेक वर्ष ४ जना नेपाली विद्यार्थीलाई यो फण्ड प्रदान गर्ने हाम्रो योजना हो’, भट्टराईले नेपाली लिंकसंग भने, ‘तर यसपटक कोरोनाका कारण विशेष अवस्था सिर्जना भएकाले १० जना विद्यार्थीलाई सहयोग गर्ने सोच बनाएका छौं ।’
यसअघि ४ जनालाई ५ सय पाउण्डका दरले दिने भनिएपनि लण्डनस्थित नेपाली दूतावास र राजदूत डा दुर्गाबहादुर सुवेदी समेतको सल्लाहमा अब १० जनालाई २ सय पाउण्डका दरले सहयोग गर्ने उनले बताएका छन् ।
‘एक अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा बेलायतको जीवन कतिसम्म गाह्रो छ भन्ने म आफैले भोगेको छु । विगतमा हामीजस्तै अफ्ठेरोमा अवस्थामा रहेका भाइबहिनीलाई सहयोग गरौं भनेर यो फण्डको अवधारणा बनाएको हुँ’ , भट्टराई भन्छन्, ‘आर्थिक रुपमै हेर्दा ठूलो सहयोग नहोला । तर आवश्यकतामा रहेका विद्यार्थीलाई केहि उर्जा र हौसला प्रदान हुनेछ भन्ने आशा मैले राखेको छु ।’
यो कोषका लागि कुनै रकम संकलन नगरिने तथा आवश्यक सबै खर्च ‘भट्टराई एण्ड को इमिग्रेसन प्राक्टिस’ले नै व्यहोर्ने उनले स्पष्ट पारेका छन् । कोष प्राप्त गर्नका लागि छनौट हुने विद्यार्थीहरुलाई नगदका साथै प्राध्यापक डा सुर्य सुवेदीको हस्ताक्षरसहितको प्रमाणपत्र प्रदान गर्ने भट्टराईको योजना छ ।

सोलिसिटर दिपक भट्टराई
आवेदन पठाउन आव्हान
बेलायतमा समस्यामा परेका ‘जेन्यूइन’ विद्यार्थीहरुलाई ‘स्टुडेन्ट हार्डसिप फण्ड’को लागि आवेदन गर्न आव्हान गरिएको छ । बेलायतमा अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा अध्ययनरत विद्यार्थीहरुले मात्र आवेदन गर्न पाउनेछन् ।
ईच्छुक विद्यार्थीहरुले आफ्नो ‘बायोडाटा’, ‘कभर लेटर’, विश्वविद्यालयको परिचयपत्र वा भर्ना भएको प्रमाणपत्र, पछिल्लो रिजल्ट, पछिल्लो तीन महिनाको ‘बैंक स्टेटमेन्ट’ र एक ‘पासपोर्ट साइज’को तस्विरसहित [email protected] मा इमेल पठाउन सक्नेछन् ।
आवेदन पठाउने अन्तिम मिति आउँदो शुक्रबार अप्रिल २४ तारिखसम्म छ ।
आफ्नो सहयोग साँच्चीकै समस्यामा परेका विद्यार्थीहरुसम्म पुगोस् भनेर त्यहिअनुसारका एभिडेन्सहरु पनि माग गरिएको सोलिसिटर भट्टराईले बताएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५