बेलायतबाट नेपाल गएका आमा र छोरामा भेटियो संक्रमण


काठमाडौँ । बेलायतबाट नेपाल फर्किएका नेपाली आमा-छोरामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
शुक्रबार नेपालमा कोरोना संक्रमण फेला परेका १४ मध्ये दुईजना बेलायतबाट फर्किएका आमा-छोरा रहेको राससले जनाएको छ ।
भरतपुर अस्पलातका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार राप्ती नगरपालिका–८ ब्रह्मनगरका ६३ वर्षीय महिला र उनका २७ वर्षका छोरामा कोरोना सङ्क्रमण भएको हो ।
उनीहरु दुवै बेलायतबाट गत चैतको पहिलो साता कतार एयरवेज हुँदै काठमाडौँ पुगेका थिए । बुधबार द्रूत जाँच ‘र्यापिड डाइग्नोष्टिक टेष्ट’ गर्ने क्रममा आमालाई शङ्कास्पद देखिएपछि सँगै आएका दुई छोरालाई समेत भरतपुर अस्पतालको ‘आइसोलेसन’ कक्षमा राखिएको थियो ।
सङ्क्रमितहरुका बारेमा थप अध्ययन भइरहेको अस्पतालका अध्यक्ष डा अधिकारीले जानकारी दिए । उनले ती सङ्क्रमितको सम्पर्कमा आएका मानिसहरुको समेत खोजी भइरहेको बताए ।
यसअघि शुक्रबार एकैदिन नेपालमा थप १४ जनामा संक्रमण भेटिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले उदयपुरमा १२ र चितवनमा दुई जनामा शुक्रबार परीक्षणका क्रममा सङ्क्रमण देखिएको बताए ।
नेपालमा एकै दिन यतिधेरै सङ्ख्यामा सङ्क्रमित रहेको पहिलो पटक हो । यसअघि छिटफुट रुपमा परीक्षणका क्रममा सङ्क्रमित भेटिएका थिए । योसँगै सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५