आइतबार, फागुन ११, २०८१
12:47 | १८:३२

नेपालका लागि अमेरिकी राजदूतमा चर्चा भएका डा. पौडेलको निधन

नेपाली लिङ्क अप्रिल १५, २०२०

अमेरिकाका उच्च पदस्थ राजनीतिज्ञहरुमाझ प्रभावशाली प्रा. डा. विष्णु पौडेलको निधन भएको छ ।

न्यूयोर्क । अमेरिकाका उच्चपदस्थ राजनीतिज्ञहरुमाझ प्रभावशाली प्रा. डा. विष्णु पौडेलको निधन भएको छ । ८९ वर्षीय पौडेलको मंगलबार बिहान भर्जिनियास्थित आफ्नै निवासमा निधन भएको त्यहाँबाट मेदिनी अधिकारीले जानकारी दिइन् । दुई छोरी र एकछोराका पिता पौडेल श्रीमती डा प्रमिला पौडेलका साथमा भर्जिनियामा बस्दै आएका थिए । डा प्रमिला पौडेल अमेरिकी विदेश मन्त्रालयकी पूर्व वरिष्ठ अर्थशास्त्री हुन् ।

डा पौडेलको बसेकै कुर्सीमा निधन भएको जनाइएको छ । नर्सले पटकपटक बोलाउँदा पनि नबोलेपछि नजिक गएर हेर्दा उनको मृत्यु भइसकेको थियो । तत्काल ‘फेयरफ्याक्स’ अस्पतालमा लगिएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको हो । उनको पुरख्यौली घर नुवाकोट हो ।

झण्डै ५० वर्ष भन्दा अगाडि अमेरिका आएका पौडेल अमेरिकाका ‘डेमोक्रेटिक’ उच्च पदस्थ राजनीतिज्ञहरुमाझ निकै प्रभावशाली व्यक्तित्व थिए भने उनलाई नेपालका लागि अमेरिकी राजदूत बनाउनका लागि ‘डेमोक्रेटिक’ पार्टीका नेताहरुले तीन पटकसम्म सिफारिस गरेका थिए । उनी कैयन् भारतीय राजनीतिज्ञहरुमाझ पनि चर्चित र प्रभावशाली थिए ।

विभिन्न सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका उनीबाट साउथ एशिया क्षेत्रको नीति निर्माणका सन्दर्भमा अमेरिकी विदेश मन्त्रालयले समेत परामर्श लिने गरेको थियो । नेपाली, हिन्दी, अँग्रेजी र संस्कृत भाषामा समेत उच्च दख्खल राख्ने पौडेलले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा ‘पीएचडी’ गरेका थिए ।

२०२२ सालमा धनकुटा क्याम्पसमा क्याम्पस प्रमुख समेत भएका पौडेल प्राध्यापकका रुपमा अमेरिका आएका थिए । पछिल्लो समय भर्जिनियाको ‘अमेरिकन कलेज अफ कमर्स एण्ड टेक्नोलोजी’मा प्राध्यापक थिए । उनी उक्त कलेजको ‘बोर्ड अफ ट्रस्टी’को ‘चेयर’ समेत थिए ।

डा पौडेल ‘इक्वालिटी फाउण्डेशन’का संस्थापक अध्यक्ष थिए भने अमेरिकाको पुरानो नेपाली संस्था ‘एनएनए’का उपाध्यक्ष । उनको निधनले अमेरिकाको नेपाली डायस्पोरामा अपुरणीय क्षति पुगेको सामाजिक व्यक्तित्व ‘इक्वालिटी फाउण्डेशन’का सीईओ तथा ‘एएनए’का वर्तमान अध्यक्ष मेदिनी अधिकारीले बताइन् । उनले भनिन् – ‘अमेरिकामा यो स्तरमा उच्च राजनीतिक तहसम्म पहुँच कायम गर्ने नेपाली मुलको व्यक्ति अरु कोही थिएन । उहाँको निधनबाट हामी स्तब्ध भएका छौं ।’

पछिल्लो समय डा पौडेल भारत र अमेरिकाको उच्च राजनीतिक तहमा रहेको आफ्नो पहुँचको सदुपयोग गरेर नेपालको हितमा काम गर्ने सोचमा रहेको तथा त्यही अनुरुप नेपालका प्रधानमन्त्री लगायत उच्च राजनीतिक नेतृत्वलाई भेटेर यो विषयमा कुराकानी समेत भएको अधिकारीले जानकारी दिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू