‘डिस्चार्ज’ भए प्रधानमन्त्री जोन्सन
तत्काल काममा नफर्किने



कोरोना संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सन अस्पताल भर्ना भएको १ सातापछि आइतबार डिस्चार्ज भएका छन् ।
लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । कोरोना भाइरसबाट संक्रमित प्रधानमन्त्री अस्पताल भर्ना भएको ठीक एक सातापछि आइतबार ‘डिस्चार्ज’ भएका हुन् ।
अस्पतालबाट ‘डिस्चार्ज’ भएपनि मेडिकल टीमको सल्लाहअनुसार प्रधानमन्त्री तत्काल काममा भने नफर्किने जानकारी उनको कार्यालयले गराएको छ । अब उनले बकिंगहमशायरस्थित आफ्नो सरकारी निवास ‘चेकर्स’ मा आराम गर्नेछन् ।
यसअघि मार्च २७ मा कोरोना संक्रमण पुष्टी भएका प्रधानमन्त्रीलाई दश दिनसम्म पनि खोकी, ज्वरो लगायतका लक्षण नहटेपछि अप्रिल ५ तारिखमा लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पताल भर्ना भएको भोलिपल्टदेखि तीन दिनसम्म उनलाई ‘ईन्टेन्सिभ केयर युनिट’ (आइसियू) मा राखिएको थियो । गत विहिबार साँझ उनलाई ‘आइसियू’बाट फेरि सामान्य वार्डमै सारिएको थियो ।
प्रधानमन्त्री जोन्सनले आफ्नो उपचार र रेखदेखमा खटिएका स्वास्थ्यकर्मीहरुको उच्च प्रशंसा गर्दै आभार प्रकट गरेको उनको कार्यालयले जनाएको छ । साथै, उनले कोरोना महामारीबाट प्रभावित सबैप्रति सहानुभूति समेत व्यक्त गरेका छन् ।
यसैबीच, कोरोना संक्रमणका लक्षणहरु देखिएर अहिले ‘आइसोलेसन’ मै बसेकी प्रधामन्त्रीकी गर्भवती प्रेमिका क्यारी साइमण्ड्सले प्रधानमन्त्रीको ‘डिस्चार्ज’ पछि ट्रवीटरमार्फत खुशी व्यक्त गरेकी छन् । कठिन समयमा प्रधानमन्त्री र परिवारप्रति शुभेच्छा राख्ने सबैप्रति उनले आभार पनि प्रकट गरेकी छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५