नेपालमा अलपत्र बेलायती बोकेर लण्डन उड्यो दोस्रो चार्टर विमान



बेलायतले शुक्रबार २ सय ५० बेलायती नागरिकहरुलाई ‘चार्टर विमान’ मा देश फर्काउँदैछ
लण्डन । कोरोना महामारीका कारण नेपालमै अड्किएका बेलायती नागरिकहरु बोकेको दोस्रो ‘चार्टर विमान’ काठमाडौंबाट छुटेको छ । बेलायतले आफ्ना नागरिक लिन पठाएको टाइटन एअरको यो विमानले शुक्रबार २ सय ५० बेलायती नागरिकहरुलाई देश फर्काउँदैछ ।
बेलायती नागरिक लिनका लागि काठमाडौं जाने क्रममा रित्तै गएको विमान शुक्रबार नै काठमाडौं पुगेको थियो । यो विमानमा केहि नेपाली मूलका बेलायतीहरु पनि लण्डन फर्किदैछन् । यो उडान दुवई हुंदै लण्डनको स्ट्याण्डस्टेड विमानस्थलमा अवतरण हुनेछ ।
नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले आफ्ना थप नागरिकहरु स्वदेश फर्काउने प्रयास सफल बनेको भन्दै खुशी व्यक्त गरेकी छन् । यसअघि, दुई दिनअघि पनि बेलायतले नेपालमा रहेका आफ्ना २ सय ५० नागरिकलाई चार्टर विमानमा राखेर स्वदेश फर्काएको थियो ।
राजदूत पोलिटले दुई वटा उडानपछि पनि छुटेका नागरिकहरुको लागि तेस्रो उडान व्यवस्था गर्न लागिएको जानकारी दिएकी छन् । उक्त विमानमा फर्किन ईच्छुक बेलायतीहरुलाई काठमाडौंस्थित बेलायती दूतावासमा सम्पर्क राख्न आग्रह गरिएको छ ।
यसअघि बेलायतले आफ्ना नागरिक लिन चार्टर विमान काठमाडौं पठाउने खबर आएपछि बेलायतमै अड्किएका नेपालीहरुलाई पनि सोहि विमानमा नेपाल फर्काउने बन्दोबस्त गर्न भन्दै आवाजहरु उठेका थिए । भ्रमण भिसामा आएका, विश्वविद्यालय बन्द भएका विद्यार्थी र जाँच दिन आएका डाक्टरहरु लगायतलाई बेलायतकै चार्टर विमानमा नेपाल फर्काउने पहल गर्न दूतावासलाई आग्रह गरिएको थियो ।
तर, नेपाल सरकारले नै अप्रिल महिनाभरलाई कुनै पनि यात्रुवाहक अन्तर्राष्ट्रिय उडान काठमाडौं अवतरण गर्नमा रोक लगाएको कारण यसपटक बेलायतमा रहेका नेपाली फर्काउन सम्भव नभएको लण्डन दूतावासका प्रवक्ता शरदराज आरनले बताएका छन् ।

काठमाडौं विमानस्थलमा ‘चेक इन’का क्रममा बेलायतीहरु
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५