सेनाको भूमिका प्रशंसनीय छ: प्रधानमन्त्री



प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँ, २६ चैत (रासस)- प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को सङ्क्रमणबाट बच्न हालका दिनमा नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित ५८औँ समूहको अधिकृत क्याडेट तालीम पूरा गर्ने नवआयुक्त अधिकृतलाई पठाएको सन्देशमा उनले भविष्यमा आउन सक्ने विभिन्न किसिमका महामारीको सामना गर्न नेपाली सेना र अन्य सुरक्षा निकायलाई सजग तथा सतर्क रहँदै आपसी समन्वयमा रहन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले भनेका छन्, “चीनबाट नेपालीलाई उद्धार गरी ल्याएर भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राखेर उचित व्यवस्था गर्न नेपाली सेनाले खेलेको भूमिका प्रशंसायोग्य छ, भविष्यमा उत्पन्न हुन सक्ने विविध सुरक्षा खतराको सामना गर्न सबै सुरक्षा निकायले समन्वयमा रहेर काम गर्नुस् ।”
सेनाले सदैव संवैधानिक सरकारको मातहत र निर्देशनमा आफूलाई व्यावसायिक र मर्या्दित सङ्गठनका रुपमा स्थापित गर्दै आएको बताउँदै प्रधानमन्त्री ओलीले विपद् व्यवस्थापन, पूर्वाधार विकास, नागरिक सैनिक सम्बन्ध विस्तार र राष्ट्रिय सङ्कटमा जनतासँग सहकार्य गर्दै आएको उल्लेख गरे ।
उनले भनेका छन्, “सेनाले नेपाल र नेपाली जनताप्रति सदा बफादार रही आफ्नो कार्य गर्दै आएको छ, नेपाली सेना विविध राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय जिम्मेवारी पूरा गर्न सक्षम एवं बहुआयामिक सङ्गठनका रुपमा विकसित भइरहेको छ ।” प्रधानमन्त्रीको उक्त सन्देश समारोहमा पढेर सुनाइएको थियो ।
समारोहमा प्रधान सेनापति पूर्णचन्द्र थापाले नवआयुक्त अधिकृतलाई बधाई ज्ञापन गर्दै आफू र मातहतका जवानको सुरक्षा सुनिश्चित गर्दै राष्ट्र र राष्ट्रवासीको विश्वास र भरोसा माथी खरो रुपमा उत्रिन निर्देशन दिए । कोभिड–१९ को सङ्क्रमणलाई दृष्टिगत गरी सीमित व्यक्तिको उपस्थितिमा सुरक्षात्मक उपाय अपनाई उक्त समारोह गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५