लकडाउनमा कडाइ


काठमाडौँ, २५ चैत (रासस)- ट्राफिक प्रहरीले मंगलबारदेखि लकडाउनमा थप कडाइ गरेको छ । अत्यावश्यक कामबाहेक उपत्यकालगायत एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाका, मुख्य सडक तथा भित्री सडकको जाँचमा थप कडाइ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १ सय ५५ स्थान र रातमा ४५ स्थानमा चेक प्वाइन्ट राखी सवारीसाधन जाँच गर्ने व्यवस्था मिलाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । भित्री सडकमा भने मोटरसाइकलमा ट्राफिक प्रहरी खटाएको उनले बताए ।
कोरोना भाइरस विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देशव्यापी लकडाउनको आदेश जारी गरेको थियो । लकडाउन उल्लंघन गर्ने सवारीसाधनलाई नियन्त्रणमा लिएर बाहिर ननिस्कने प्रतिबद्धतासहित बेलुका मात्रै उक्त सवारीसाधन छाड्ने गरिएको महाशाखाले जनाएको छ ।
काठमाडौँ उपत्यकामा चैत ११ गतेदेखि लकडाउन उल्लंघन गर्ने पाँच हजार बढी सवारीसाधन नियन्त्रणमा लिएर कारवाही गरिएको छ भने २५ हजारभन्दा बढी मानिसलाई समेत कारवाही गरिएको छ ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय, काठमाडौँले विभिन्न मितिमा जारी भएको सात दिने पहेँलो रङको सवारी पास अब थपिएको लकडाउन अवधिभर पनि मान्य हुने जनाएको छ । यो समयमा पास भएर पनि शान देखाउँदै घुम्न निस्कने, तीव्र गतिमा कुदाउने, एक व्यक्तिको नाममा भएको पास अर्को व्यक्तिलाई दिनेमाथि महाशाखाले विशेष निगरानी थालेको समेत प्रहरीले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५