अपडेट: प्रधानमन्त्री जोन्सनको स्वास्थ्य अवस्था स्थीर



बेलायती प्रधानमन्त्री बोरिस जोन्सन ।
लण्डन । सोमबारदेखि आइसियू (इन्टेन्सिभ केयर युनिट) मा उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्यअवस्था अहिले स्थीर रहेको छ । मंगलबार साँझ प्रधानमन्त्री कार्यालयले एक सूचना जारी गर्दै प्रधानमन्त्री अझै ‘क्रिटिकल केयर’ मै रहेको बताएको छ ।
यसअघि प्रधानमन्त्रीको अनुपस्थितिमा सरकारको नेतृत्व गरिरहेका परराष्ट्रमन्त्री डोमिनिक रबले पनि जोन्सनको स्वास्थ्य स्थीर रहेको जानकारी गराएका थिए ।
मंगलबार प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटमा आयोजित दैनिक कोरोना ब्रिफिङमा उनले जोन्सनलाई अक्सिजनको सहयोग दिइएको तर भेन्टिलेटरमा नराखिएको स्पष्ट पारेका थिए । अरु कुनै बाह्य सहयोगबिना प्रधानमन्त्रीको श्वासप्रश्वास पनि चलिरहेको मन्त्री रबले बताएका थिए ।
प्रधानमन्त्री जोन्सन सरकारको प्रमुख मात्र नभएर एक सहकर्मी र साथी समेत रहेको भन्दै मन्त्री रबले उनी छिट्टै स्वास्थ्यलाभ गरेर काममा फर्किने विश्वास व्यक्त गरे । ‘मलाई विश्वास छ कि उहाँ यो अवस्थाबाट निक्लिनुहुनेछ किनकी प्रधानमन्त्रीका बारेमा मलाई एउटा कुरा थाहा छ, उहाँ एउटा योद्धा हो । उहाँ छिट्टै फर्किएर संकटको यस घडी पार गर्न हाम्रो नेतृत्व गर्नुहुनेछ’, उनले थपे ।
यसअघि, कोरोना संक्रमण भएको दशौं दिनसम्म पनि ज्वरो, खोकी लगायतका लक्षणहरु नहटेपछि प्रधानमन्त्री जोन्सन आइतबार लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यअवस्था झन् बिग्रिएपछि उनलाई सोमबार आइसियूमा सारिएको थियो ।
प्रधानमन्त्रीको स्वास्थ्य थप बिग्रिन सक्ने जोखिमलाई ध्यानमा राख्दै पूर्वसावधानीका रुपमा आइसियूमा राखिएको बताइएको छ ।
५५ वर्षीय प्रधानमन्त्री जोन्सनलाई गत मार्च २७ तारिखमा कोरोना संक्रमणको पुष्टी भएको थियो । त्यसयता डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्री निवासमै आइसोलेसनमा थिए उनी । आइसोलेसनमै रहँदा पनि उनले आफ्नो जिम्मेवारी यथावत सम्हाल्दै आएका थिए ।
आइतबार अस्पताल भर्ना भइसक्दा समेत जिम्मेवारीमै रहेका प्रधानमन्त्रीले आइसियूमै जाने अवस्था आएपछि भने आफ्नो जिम्मेवारी सम्हाल्न परराष्ट्रमन्त्री डोमिनिक रबलाई आग्रह गरेका हुन् ।
यो पनि पढौं : बेलायतमा कोरोना संक्रमितको संख्या बढ्दै, तर अनुपात घट्दै
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५