बेलायती प्रधानमन्त्री आइसियूमा



बेलायती प्रधानमन्त्री बोरिस जोनसन ।
लन्डन । कोरोना भाइरस संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको अवस्था जटिल बनेपछि उनलाई सघन उपचार कक्ष (आइसियू) मा सारिएको छ । प्रधानमन्त्री कार्यालय डाउनिंग स्ट्रिटले यसको पुष्टि गरेको छ ।
५५ वर्षीय प्रधानमन्त्री जोन्सन १० दिन ‘सेल्फ आइसोलेसन’ मा बसेपछि आइतबार वेष्टमिनिस्टरस्थित सेन्ट थोमस हस्पिटल भर्ना गरिएको थियो । उच्च ज्वरो र खोकीले ग्रस्त प्रधानमन्त्रीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो ।
सोमबार बिहानसम्म प्रधानमन्त्री जोन्सनले आफूलाई ठिक भएको ‘ट्वीट’ गरेका थिए । उनलाई सोमबार दिउँसोदेखि अक्सिजन दिन थालिएको थियो ।
प्रधानमन्त्री सघन उपचार कक्षमा उपचारार्थ रहेका बेला विदेशमन्त्री डोमिनिक राबले जोन्सनको कार्यभार सम्हाल्ने प्रधानमन्त्री कार्यालयका प्रवक्ताले जनाएका छन् ।
होसमै रहेका प्रधानमन्त्रीले एनएचएस कर्मचारीलाई आफ्नो राम्रो रेखदेख गरेकामा धन्यवाद दिएका छन् ।
प्रमुख विपक्षी लेबर पार्टीका नवनिर्वाचित नेता कियर स्टार्मरले यो अत्यन्तै दुःखको समाचार भएको बताए । उनले यो अत्यन्तै कठिन समयमा सिंगै देश प्रधानमन्त्री र उनको परिवारको साथमा रहेको पनि जनाए । लन्डन मेयर सादिक खानले प्रधानमन्त्री जोनसनको पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५