नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६



काठमाडौँ महानगरपालिकाले ‘कोभिड १९’ को रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको दशौँ दिन बिहीबार कालिमाटीमा किटनाशक औषधि छर्कदैँ । तस्वीर- रोशन सापकोटा, रासस
काठमाडौं । नेपालमा कोभिड–१९ को सङ्क्रमित सङ्ख्या ६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालमा कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या छ पुगेको जानकारी दिनुभएको हो । उहाँका अनुसार सङ्क्रमित व्यक्ति बाग्लुङकी महिला हुन् ।
यही चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएको डा देवकोटाको भनाइ छ । पहिलो कोरोना सङ्क्रमित व्यक्ति भने उपचारपछि ठिक भएर घर फर्किसकेका छन् । दोस्रो सङ्क्रमित व्यक्ति काठमाडौँकी १९ वर्षीया युवती हुन् । उनी फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्युआर ६५२ जहाजबाट काठमाडौँ आएकी थिइन् । उनमा चैत १० गते कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।
त्यस्तै तेस्रो व्यक्ति धादिङ, चौथो धनगढी र पाँचौँ बाग्लुङका व्यक्तिमा कोरोना सङ्क्रमण भएको पुष्टि भइसकेको छ । डा देवकोटाले आजसम्म कूल एक हजार १८४ मा परीक्षण गरिएको जानकारी दिनुभयो । उहाँले विभिन्न अस्पतालमा पनि स्वाब लिइरहेको जनाउँदै सैनिक अस्पतालले १७ जनाभन्दा बढीको स्वाब लिएको बताउनुभयो । उहाँले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाहेक धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण भइरहेको जानकारी दिनुभयो ।
उहाँले बुटवल, सुर्खेत, हेटौंडा र धनगढीमा मेशिन जडान कार्य भइसकेको र परीक्षण हुने क्रममा रहेको बताउनुभयो । जनकपुरमा भने जडान कार्य सम्पन्न भइसकेको छ । आइसोलेसनमा आजसम्म देशभरिमा १०५ जना उपचाररत छन् । जसमा उपत्यकामा १६ र बाँकी उपत्यकाबाहिर उपचारत छन् । उहाँका अनुसार कल सेन्टरमा गत २४ घण्टाभित्र दुई हजार ७५९ फोन सम्वाद गरेको छ । त्यसमा धेरैले अस्पतालमा कोरोनाको परीक्षण, पिपिई खरिदलगायतका विषयमा प्रश्न गरेको उहाँले बताउनुभयो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५