सोमबार, फागुन २६, २०८१
कोभिड १९ नियन्त्रणका लागि सातै प्रदेशमा सामग्री


रासस
मार्च ३१, २०२०

प्रदेश सरकारलाई नेपाल सरकारले उपलब्ध गराएको कोभिड१९ उपचारमा स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) एक हजार थान सोमबार विराटनगरमा सेनाको स्काई ट्रकबाट झार्दै । तस्वीर-मनोज दाहाल/रासस
काठमाडौं । सरकारले कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्न चीनबाट ल्याएका औषधिजन्य सामग्री सातै प्रदेशमा पठाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवाविभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सातवटै प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण र स्वाथ्यकर्मीका लागि आवश्यक उपकरण समेत पठाइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार कर्णाली र सुदूर पश्चिमबाहेक हेलिकप्टरबाट विराटनगरमा सामान गइसकेको छ भने अन्य प्रदेशमा आज स्थलमार्गबाट सामान लिएर गाडी हिँडिसकेका छन् । आइतबार बिहान चीनबाट कोराना रोकथामका लागि औषषिजन्य सामग्री आएको थियो । कर्णाली प्रदेशको सुर्खेतमा नेपाली सेनाको हेलिकप्टरमार्फत सामान पुगिसकेको छ । सोही हेलिकप्टरले सुदूरपश्चिम प्रदेशको धनगढी पनि सामान लगेको छ । सरकारले सातै प्रदेशमा प्रयोगशाला संचालन गरेर त्यहीँ नै कोभिड १९ परीक्षण गर्नेछ ।
यसअघि काठमाडौँमा मात्र नमूना परीक्षण हुने गर्दथ्यो । आइतबारदेखि धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा नमूना परीक्षणको काम शुरु गरिएको छ । प्रदेशस्तरमा रहेका अस्पतालका प्रयोगशालाको स्तर वृद्धि गरी सञ्चालन सम्भाव्यताका लागि विज्ञको टोली पनि पठाइसकिएको स्वास्थ्यमन्त्रीका स्वास्थ्यविज्ञ डा खेम कार्कीले जानकारी दिनुभयो । प्रदेशका प्रयोगशालाको स्तर वृद्धिसँगै चीनबाट ल्याइएका आवश्यक ठाउँमा बोक्न सकिने यन्त्र (प्रोटेबल पिसिआर मेशिन) पनि विकल्प (ब्याकअप) का लागि पठाइने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सबै प्रदेशमा पठाइएका सामग्रीमा व्यक्तिगत सुरक्षा कवच (पिपिई) एकएक हजार थान, सर्जिकल मास्क १०-१० हजार थान, पञ्जा दुईदुई जार थान तथा एन९५ मास्क एकएक हजार थान पठाइएका छन् ।
मन्त्रालयको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सातै प्रदेशमा कोभिड १९ को नमूना परीक्षणका लागि प्रदेशमा प्रयोगशाला विज्ञ खटाएको छ । मन्त्रीका स्वास्थ्यविज्ञ डा. कार्कीका अनुसार प्रयोगशाला विज्ञका रुपमा प्रदेश २ को जनकपुरमा सुरेन्द्र मधुप, डा. निराजन भुसाल र विवेक तिमिल्सेनालाई पठाइएको छ ।
यस्तै वाग्मती प्रदेशको हेटौंडामा विष्णु उपाध्याय र निर्मल आचार्य, गण्डकी प्रदेशको पोखरामा प्रयोगशाला विज्ञका रुपमा बलराम गौतम, श्रीराम बाँस्तोला र रोजी पाण्डे, प्रदेश नं ५ को बुटवलमा प्रयोगशाला विज्ञका रुपमा विष्णु रायमाझी, रामबहादुर खड्का र खेमध्वज कार्कीलाई पठाइएको छ । नेपालगञ्जमा रामकृष्ण श्रेष्ठ तथा कर्णाली प्रदेश सुर्खेत र सुदूरपश्चिम प्रदेश धनगढीको प्रयोगशाला विज्ञका रुपमा क्रमशः डा महेन्द्रप्रसाद भट्ट र सुनिलप्रसाद लेखक रहनु भएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५